एसियाड गेममा नेपाल लगातार पराजित

रिपोर्ट नेपाल | 2018 Aug 21 | 07:13 am 1877

१८औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ । सोमबार भएको खेलमा चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको हो ।

राष्ट्रिय खेलकूद परिषद्हिका अनुसार पहिलो सिङ्गल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भएका थिए । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु आगामी शुक्रबारदेखि शुरु हुनेछ ।

एशियाली खेलकूदको पौडीतर्फ सोमबारकै खेलमा दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खेलाडी गौरिका सिंह र टीसा शाक्य दुवैले १०० मिटर फ्रि स्टायलमा भाग लिएका थिए । २७ खेलाडी सहभागी उक्त प्रतिष्पर्धामा गौरिका १८ औँ र टीसा २२ औँ स्थान प्राप्त गरे। गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट शुन्य दशमलव ८२ सेकेन्ड समय खर्चिएकी थिइन् भने टिसाले १ मिनेट शुन्य तीन दशमलव सेकेन्डमा सो दूरी तय गरिन् ।

आज मङ्गलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रि स्टायलमा सहभागिता जनाउने छन् ।

यस्तै, तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागरले भियतनामका खेलाडीसँग २५–५ अङ्कले पराजित भएको थियो । त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१० तथा ६७ केजीमुनि नेपालकी सङ्गीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले पराजित भइन् ।

मङ्गलबार महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले प्रतिस्पर्धा गर्ने राखेपले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.