एसपी र डिएसपीको चर्चासँगै शक्ति केन्द्रमा चलखेल बढ्‌दो

| 2023 Sep 01 | 01:52 pm 3529

काठमाडाैं, भदौ १५ । प्रहरी प्रधान कार्यालयले यथा सक्य छिटो प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवाको तयारी थालेसँगै मालदार ठाँउ हत्याउनका लागि शक्ति केन्द्रमा दौडधुप शुरु भएको छ ।

नेपाल प्रहरीमा इमान्दार र संस्थागत कार्य गर्नेको भन्दा पैसा उठाउन र बुझाउन सक्नेले मात्रै इन्चार्ज पाउदै आएको गुनासो प्रह‌री अधिकत‌ले गर्ने गरेका छन् । पटक पटक इन्चार्ज मात्र होइन मालदार ठाँउ पाएर बदनामी कमाएका अधिकृतहरु यति बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठका मान्छेहरुसँग मोलमोलाईमा लागेको बुझिएको छ । विभिन्न महंगा रेस्टुरेन्टका गोप्य कोठामा मोलमोलाई हुने गरेको समाचार स्रोत बताउछ ।

सुनसरी, बारा, कपिलवस्तु, पूर्वी नवलपरासी, इलाम, धनकुटा, उदयपुर, नुवाकोट कास्की, भक्तपुर र डोटी जिल्लाका इन्चार्जको एक वर्षे अवधि नाघेकोले सरुवा गर्न लागेको हो। बारा, कपिलवस्तु, कास्की, लगायतका मालदार जिल्लाको कमाण्ड लिनका लागि इमान्दार भन्दा पटक पटक बदनामी कमाएका एसपीहरुको ज्यादै दौडधुप चलेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नातेदार को  हुन् र उसले भनेको उनले सुन्छन भनेर आफू मात्र नभएर कैयौं एसपीले आफन्तलाई समेत लगाएका छन। यसैगरी प्रहरी नायव उपरीक्षक (डिएसपी) को समेत एकै पटक सरुवा हुने संभावनाले कैयौं डिएसपी पनि माओवादी नेताको ढोका चाहार्न व्यस्त छन्। विशेष गरी काठमाडाैंका विभिन्न वृत्तमा जानका लागि डिएसपीहरु थैलीभेटी बोकेर शक्ति केन्द्र धाई रहेको समाचार स्रोतको दावी छ। काठमाडाैंका बौद्ध लगायतका वृत्तका लागि ठूलै कसरत गर्नु पर्ने भएकोले त्यहाँ गएर उठाउन हिम्मत राख्नेहरु बढी दौड‌धुप‌मा लागेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.