एम्बुलेन्समा राखी गाँजा काराेबार गर्ने तीन जना पक्राउ

| 2020 Jun 11 | 10:29 am 1758

बारा, जेठ २९ः सिमरास्थित रहेकाे अल्पाइन मेडिकल कलेज तथा टिचिङ अस्पतालको एम्बुलेन्सबाट ५६ किलो अवैध लागूऔषध गाँजा बरामद भएको छ।

वीरगञ्‍ज महानगरपालिका वडा नं. २७ रामपुर टोलमाना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो। प्रहरी अधिकृतसहितको टोलीले एम्बुलेन्सबाट गाँजासहित तीनजनालाई पक्राउ समेत गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीनगरपालिका १५ का २३ वर्षीय जितबहादुर वाइबा, सोही ठाउँका २२ वर्षीय दिलबहादुर वाइबा र पर्साको बहुदरमाई नगरपालिका ५ भौराटारका ३२ वर्षीय हरिशंकर महतो रहेका छन्।

रामपुर टोलमा गाँजा ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको र सोही क्रममा अल्पाइन अस्पतालको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको डीएसपी थापाले बताए।

पक्राउ परेका व्यक्तिसहित एम्बुलेन्स र गाँजा पर्सा प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार सो गाँजा पर्साको बहुदरमाई नगरपालिका–५ भौराटारतर्फ लैजान लागिएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.