एमालेमा ‘लडाकु दस्ता’ खोल्ने जुहारी

रिपोर्ट नेपाल | 2021 Jul 23 | 07:50 am 2145

काठमाडौं, साउन ८: एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा गर्याे। सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो। क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि युथ फोर्सले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बाल्कोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित स्कर्टिङ गर्याे। त्यसको नेतृत्व युथ फोर्सका पूर्वकमान्डर महेश बस्नेतले गरेका थिए।

पार्टीभित्र तीव्र विवाद चर्किरहेकै बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीले पनि असार २९ गते तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरे। ‘ओली समूहलाई काउण्टर दिन अखिल फोर्स गठन गरेका हौं,’ घोषणासभामा नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘अब देशभरका क्याम्पस र जिल्लाहरूमा गठन गरेर अघि बढ्छौं।’

ओली पक्षको युथ फोर्सलाई काउन्टर दिनै नेपाल पक्षले बिहीबार अर्को दस्ता ‘पिपुल्स भोलेन्टियर (पीभी)’ पुनर्गठन गरेको छ। १२ वर्षअघि विघटन गरिएको पिपुल्स भोलेन्टियर १ हजार एक सदस्यीय बनाइएको छ।

ओली पक्षतर्फ पूर्वमाओवादी नेताहरूले समेत लडाकु दस्ताकै रूपमा आइटी आर्मी घोषणा गरिसकेका छन्। त्यसको नेतृत्व चन्द्रभूषण साहले गरेका छन्।

एकातिर एमालेमा पार्टी एकताको पहल भइरहेको छ भने अर्कातर्फ दुवै पक्षले भटाभट लडाकु दस्ता गठन गरिरहेका छन्। पार्टीमा युवा र विद्यार्थीका वैधानिक र जनवर्गीय संगठन हुँदाहँंदै सैन्य संरचनाका लडाकु दस्ता निर्माण गर्दै जानुले एमालेका नेताहरू (भिडन्त) तर्फ अग्रसर भइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। प्राध्यापक डा.लोकराज बराल यो होडबाजीलाई एकले अर्कालाई शक्ति देखाउन र तर्साउन युवा, विद्यार्थीका दस्ता गठन गर्दै लगेको ठान्छन्। ‘अहिले नै एमाले एकता हुन्छ जस्तो लाग्दैन,’ डा. बराल भन्छन्, ‘ओलीको इगो झर्दैछ भने माधव नेपाल ओलीको नाडी छाम्दैछन्।’

२०६३ मा सशस्त्र विद्रोह त्यागेर माओवादी शान्ति प्रक्रियामा आए लगत्तै पार्टीका युवा, विद्यार्थी समेटेर वाईसीएल गठन गर्यो। वाईसीएलले देशव्यापी चन्दा, अपहरणलगायतका आतंक मच्चाएपछि एमालेले काउण्टर दिन बस्नेतको संयोकत्वमा २०६५ मा युथ फोर्स गठन गरेको थियो। एमालेको आठौं महाधिवेशनले युथ फोर्स विघटन गरेको थियो। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.