एमबीबीएस र बीडीएसको शुल्कवृद्धि फिर्ता गर्न डा केसीको माग

| 2018 Oct 07 | 07:24 am 3645

काठमाडौं, असोज २१: डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोग नबनेसम्म एमबीबीएस र बीडीएसको बढाइएको शुल्क फिर्ता लिन माग गरेका छन् ।  काठमाडौं विश्वविद्यालयका पदाधिकारीले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रममा अत्यधिक शुल्क बढाउने निर्णय गरेको उनले जनाएका छन् ।

डा.केसीले यसअगाडि सरकारले एमबीबीएस/बीडीएस कार्यक्रमको शुल्क तोकेर कार्यान्वयन गरिसकेको अवस्थामा तुरुन्त शुल्कवृद्धि खारेज गर्न र अब बन्ने चिकित्सा शिक्षा आयोगलाई शुल्क निर्धारणसम्बन्धी सबै काम छाडिदिन ध्यानाकर्षण गराएका छन्।

उनले पूर्वाधार नपुगी काठमाडौं नेसनल कलेजलाई अस्पताल सञ्चालन गर्न दिने निर्णय फिर्ता गर्न आग्रह गरेका छन्। डा. केसीले शनिबार विज्ञप्ति जारी गरी आवासीय भवनमा स्थापित मेडिकल कलेजलाई सरकारले गैरकानुनी रूपमा अस्पताल सञ्चालन अनुमति दिएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा ‘८ वर्षसम्म स्वास्थ्य मन्त्रालयअन्तर्गतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउन उदासीनता देखाउनु तर पूर्वाधार नभएको कलेजलाई अस्पताल सञ्चालन गर्न दिने निर्णयले मन्त्री र स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीको भ्रष्ट मानसिकता उदांगो भएको उनको दाबी छ।

डा.केसीले ३ बुँदे माग अघि सार्दै जुनसुकै बेला सत्याग्रह गर्न सक्ने बताएका छन्। उनले आफूसँग गरेका सबै सहमति तुरुन्त कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरेका छन्। त्रिवि उपकुलपति तीर्थ खनियाँ र अन्य उच्च पदाधिकारीलगायत गौरीबहादुर कार्की आयोगले दोषी ठहर्‍याएकालाई तत्काल कारबाही गर्नुपर्ने मागसमेत उनले राखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.