वीरगंज, वैशाख ३० : एभिन्युज खबर टेलिभिजनको वीरगंजस्थित ब्यूरो कार्यालय तोडफोड भएको छ । समाजवादी पार्टी नेपालका कार्यकर्ताले कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेकाे एभिन्युज खबर टेलिभिजनको आरोप छ ।
वीरगञ्जस्थित एभिन्यूज खबरका संवाददाता मुस्कान श्रेष्ठका अनुसार कार्यालयमा काम गरिरहेको अवस्थामा साढे १२ बजेतिर मुखमा कालो पट्टी बाँधेका केही मानिसहरू आएर तोडफोड गरेका हुन् । उनले कार्यालयको सिसा फुटाएको अफिसको ब्यानर च्यात्नुका साथै क्यामरा तोडफाड गरेका थिए ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अन्तर्वार्ता प्रसारित भएपछि आक्रोशित कार्यकर्ताले ब्यूरो कार्यालयमा तोडफोड गरेको टेलिभिजनको आरोप लगाएको छ । एभिन्युज खबरले सकस राजनीति कार्यक्रममा लिएको अन्तर्वार्ता आइतबार प्रसारण भएको थियो। अन्तर्वार्तामा सकस राजनीतिका प्रस्तोता सुशील पाण्डेले सोधेको प्रश्नको उत्तर नदिई यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए ।
उपप्रधानमन्त्री यादवकाे अन्तर्वता लिने ‘सकस राजनीति ‘कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई ज्यान मार्ने धम्की समेत आएकाे टेलिभिजनले जनाएकाे छ । टेलिभिजनकाे अनुसार आफूलाई समाजवादी नेपालका कार्यकर्ता भन्दै ९८५१००५१८० नम्बरबाट ज्यान मार्ने धम्की दिएकाे हाे ।
अहिले उक्त अन्तर्वार्ता सामाजिक सञ्जालभरी भाइरल बनिरहेकाे छ । अहिले प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने तोडफोड गर्नेहरुको पहिचान खुल्न नसकेको र घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको बताए।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले एभिन्यूज टेलिभिजनको कार्यलयमा तोडफोड भएको घटना प्रेस माथिको नाङ्गो आक्रमण भएको बताएका छन्। उनले तोडफोडमा संलग्नलाई पक्राउ गरी अविलम्व कारवाहीको माग पनि गरेका छन्।