एफएओको जागिर खान कृषि सचिव जिसीद्वारा राजीनामा

रिपोर्ट नेपाल | 2020 Feb 03 | 03:57 pm 3059

काठमाडौं, माघ २०: दुई वर्ष कार्यकाल रहँदा रहँदै संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ) को जागिर खान कृषि सचिव डा युवकध्वज जिसीले राजीनामा दिएका छन् ।

जिसीले कृषि सचिवको रुपमा मन्त्रालय सम्हालेको गत हप्ता तीन वर्ष पूरा भएको छ । ०७३ माघ ६ को मन्त्रिपरिषदको निर्णयबाट उनी सचिवमा बढुवा भएका थिए ।

मन्त्रिपरिषदमा पेश भएको उनको राजीनामा स्वीकृत भने भइ सकेको छैन । जिसीले राजीनामा बुझाएको भए पनि अहिले प्रक्रियामै रहेको बताइएको छ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य एवं कृषि संगठन (एफएओ) को क्षेत्रीय प्रमुखको रुपमा केही समयअघि जिसीले नाम निकालेका थिए । त्यस पश्चात उनले राजीनामा दिएको बुझिएको छ ।

एफएओको क्षेत्रीय कार्यालय थाइल्याण्डको बैंककमा छ । सोही अनुसार उनी फागुन पहिलो सातादेखि एफएओको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेको जिसी निकट स्रोतले जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघको आकर्षक जागिर शुरु हुने भएपछि उनले सरकारी सुविधा त्याग्ने गरी कृषि सचिव पदबाट राजीनामा बुझाएको मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारी सेवामा १८ वर्ष बिताएका जिसीको राजीनामा स्वीकृत भए उनले पेन्सन सुविधा पनि नउने बुझिएको छ ।

यसअघि मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य सचिव पुष्पा चौधरीले पनि सेवा अवधि रहँदै अन्तर्राष्ट्रिय नियोगको जागिर खान राजीनामा दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.