बाँके, चैत ८ : निजि क्षेत्रको एपेक्स नेपाल कम्पनीले नेपालगञ्ज उपमहानगरपालिकाभित्र निर्माण गरेका अत्याधुनिक (डिजिटल) बस बिसौनीले नगरको सौन्दर्य बढाएको सरोकारवालाले बताएका छन्।
आउँदो केही दिनमा निर्माण सम्पन्न हुने बस बिसौनी झण्डै सात करोडको लागतमा निर्माण सम्पन्न हुने बताइएको छ । नेपालगञ्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रोडका २१ स्थानमा यस्ता अत्याधुनिक बस बिसौनी निर्माण भएका छन् ।
समाजसेवी तथा व्यवसायी कृष्णप्रसाद श्रेष्ठका अनुसार डिजिटल बस बिसौनीले नगरको सौन्दर्यतासँगै यातायात व्यवस्थापन र यात्रुलाई समेत सहजता भएको बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बिपी चोक, धम्बोझी चोक, गणेशमानचोक लगायतका मुख्यमुख्य स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भइसकेको जानकारी दिए ।
कम्पनीले शुरु गरेको बस बिसौनी तथा ट्राफिक बुथ निर्माणको काम केही दिनमा सकिने बताइएको छ । बस बिसौनी निर्माण कार्य कम्पनी एपेक्स नेपालसँग उपमहानगरपालिकासँग १० वर्षका लागि वार्षिक १५ लाख २६ हजार ३ सय मा सम्झौता गरेको छ । निर्माण कार्यको सम्पूर्ण खर्च एपेक्सकै रहने र त्यसवापत एपेक्सले बस बिसौनीमा विज्ञापन गर्न पाउने सम्झौता गरिएको छ ।
एपेक्स नेपाल प्रालिका निर्देशक कृष्णप्रसाद आचार्यले अत्याधुनिक बस बिसौनीमा विभिन्न प्रचार सामग्री सुन्दर किसिमले राखिने र यात्रुका लागि घामपानीमा ओत लाग्ने स्थानकोसमेत व्यवस्था गरिएको बताए ।