एपीएफ टोलीद्वारा सालको गोलियाकाठ तथा लागूऔषध सहित सात जना पक्राउ 

रिपोर्ट नेपाल | 2020 Apr 21 | 10:06 pm 1987

सुनसरी, बैशाख ९ः जिल्लाको रामधुनी नगरपालिका ६ बहत्तर बिघास्थित जंगलबाट एपीएफ टोलीले करीब एक सय २० क्यूफिट सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका ४१ बर्षीय केशब खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३८ बर्षीय रोशन राई रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जंगलबाट को २ त ९९९० नम्बरको ट्रयाक्टरमा राखेर अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त काठसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उक्त ट्रयाक्टर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद काठ तथा ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा अवैध लागूऔषधसहित दुई पक्राउ

धनुषा जिल्लाको मसुरनिया गाउँपालिका ६ स्थित मरनाघाट ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका रामकरण मण्डल र दिपक मण्डल रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ७५ वटा, स्पास्मो ७६ वटा र एक्जीप्लोक्सल ३० बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

त्यसैगरी मोरङकाे बिराटनगर महानगरपालिका १६ स्थित दरैयाबाट एपीएफ टोलीले डाईलेक्स डिसी नामक दुई बोतल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिकाका २९ बर्षीय आरिफ मिया र सोही महानगरपालिका ५ का २५ वर्षीय मोहमद सोनु रहेका छन् ।

को ९ प ९३५६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.