एपीएफ टोलीद्वारा सालको काठ तथा अवैध सामान बरामद

रिपोर्ट नेपाल | 2021 Jan 04 | 06:07 pm 2161

रुपन्देही, पुस २०ः जिल्लाको कञ्चन गाउँपालिका १ स्थित प्रगती माविको जंगलबाट साेमबार एपीएफ टोलीले करीव तीन लाख ५० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ ।

अवैध रुपले कटान गरीरहेको अवस्थामा उल्लेखित मुल्य बराबरको करीव ९० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश विष्णुपुराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसवेला काठ काट्ने व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए । बरामद काठ कञ्चन सव डिभिजन वन कार्यालयमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ चाँदनी चोकबाट एपीएफ टोलीले करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको २ सय १० वटा एलइडी टिभीको स्क्रिनकभर बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त टिभीको स्क्रिनकभर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।  बरामद स्क्रिनकभर भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता र मोटरसाईकलको व्याट्री बरामद गरेको छ ।

यूपी ४० आर ६२९६ नम्बरको भारतीय मोटरसाईकलमा अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवा ईलाकाबाट बरामद गरेको हो ।

एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाईकल जमुनाहा भन्सार कार्यालयमा बुझाईएको  सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.