रौतहट, असोज १४ः जिल्लाको गौर नगरपालिका ६ सवगडा स्थित लच्का नजिकैको पोखरीबाट एपीएफ टोलीले एक जनाको शव फेला पारेको छ ।
उक्त शव सोही ठाउँ बस्ने ७५ वर्षीय रम्जन अन्सारीको रहेको छ । उनी असोज १२ गते हराएका थिए ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले उनको शव फेला पारेको हो ।
अवैध सामानसहित पक्राउ
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका ७ खानीटोल स्थित भित्रि सडकखण्डबाट एपीएफ टोलीले काजपत्र विनाको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ६ का २५ वर्षीय बमबहादुर तामाङ्ग र सोही जिल्लाको ताप्ली गाउँपालिका १ का ३० वर्षीय निरराम मगर रहेका छन् ।
भुट्टारबाट मुर्कुचीतर्फ जाँदै गरेको बा १३ च ५६४९ नम्बरको बलेरो गाडी र स १ त ५४१८ नम्बरको ट्याक्टरमा जाँच गर्दा उक्त सवारीसाधन भित्र लुकाई छिपाई लैजाँदै गरेको आयुर्वेदिक तेल तीन सय ५४ लिटर, तेजपातको बोक्रा ८० किलो र चिराईतो ६ किलो फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
एपीएफ टोलीले उक्त सामान लैजान प्रयोग भएको बलेरो गाडी तथा ट्याक्टर समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद सामान तथा बेलेरो गाडी र ट्याक्टरसहित आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यलय मुर्कुची उदपुरमा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
रौतहटजिल्लाको ईशनाथ नगरपालिका २ औरिया स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव पाँच लाख ४६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोवाईलका विभिन्न पार्ट्स र सुर्ती सशस्त्र प्रहरी बल, नेपाल
नम्बर ११ गण रौतहटबाट सशस्त्र प्रहरी नायव उपरक्षिक नरेश भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले करीव दुई लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ पिप्रहवा स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय जमुनाहा बाँकेमा बुझाईएको छ ।