एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 27 | 06:55 am 1953

रुपन्देही, चैत १४ः जिल्लाको सिद्धार्थनगर नगरपालिका १ मेउडीहवाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको तिलोत्तमा नगरपालिका १० बस्ने मेहबुब अलिलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

लु ६ प २१६५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा ओनरेक्स कफ सिरप २१ बोतल, नाइट्रोभेट ट्याब्लेट १ सय ५० वटा र स्मास्मो प्रोक्सिभन प्लस १ सय ७९ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज अलिलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

चोरीपैठारीको सामान बरामद
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १२ भटौलीयास्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले  करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त ईलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।

एपीएफ टोलीले बरामद ईलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ टोलीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट करीब १ लाख ५३ हजार रुपैयाँ बराबरको भन्सार छलीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ ।  बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

 गाँजा बरामद 
सप्तरी जिल्लाको बलानबिहुल गाँउपालिका २ स्थित बलान खोला ईलाकाबाट एपीएफ टोलीले करीब १८ किलाे गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हाे ।

त्यसवेला गाँजा लिएर आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ उक्त गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए  ।  बरामद गाँजा स्थानीय प्रहरीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.