एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Dec 16 | 07:33 pm 2650

सिरहा, पुस १ः जिल्लाको वरियारपट्टि गाउँपालिका १ कचनारी स्थित सीमा ईलाकाबाट मंसीर ३० गते एपीएफ टोलीले ६ बोतल डाईलेक्स डिसी र २० पत्ता नाईट्रोभेट ट्याब्लेसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लाहन नगरपालिका ४ का २७ वर्षीय सूर्यनारायण साह रहेका छन् ।

स ६ प ६६३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कडहरीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका साहलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको
लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान, लत्ताकपडा, भाडावर्तन र मोटर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय वीरगंजमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १ स्थित सीमा ईलाकाबाट उक्त लत्ताकपडा तथा उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटा मोटरसाईकल बरामद गरेको हो ।

बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.