पर्सा, असोज २९ः जिल्लाको ठोरी गाउँपालिका ४ स्थित गोपी बस्तीबाट एपीएफ टोलीले एक नाल भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय अमन लामा, ३२ वर्षीय बाबुराम लामा, ३४ वर्षीय कुमार लामा र ३५ वर्षीय सानुबहादुर तामाङ्ग रहेका छन् ।
उक्त ठाउँमा हो हल्ला गरी हिडिरहेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले नियन्त्रणमा लिई जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक तथा चार वटा गोली र एक थान खुकुरी फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद भरुवा बन्दुक, गोली र खुकुरीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
कञ्चनपुर जिल्लाको बेलडाडी गाउँपालिका ३ स्थित खैरीघाटबाट एपीएफ टोलीले करीव एक लाख १४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मिठाई बनाउने सामान बरामद गरेको छ ।
भन्सार छली अवैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट दोधाबाट खटिएको एपीएफ टोलीले करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्ट्स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाईल पार्ट्स एपीएफ टोलीले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० बिकास बस्ती स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
बरामद मोवाईल पार्ट्स भन्सार कार्यालय त्रिनगरमा बुझाईएको छ ।