पश्चिम नवलपरासी, चैत ७ः जिल्लाको बर्दघाट नगरपालिका ४ स्थित चिसापानीबाट शनिबार एपीएफ टोलीले करीब ४ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।
हराईरहेको सीमा स्तम्भ एपीएफ टोलीद्वारा फेला
झापा जिल्लाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टा नेपाल भारत सीमा ईलाकामा रहेको सानो सीमा स्तम्भ बाढिको कारण विगतमा हराईरहेकोमा एपीएफ टोलीले फेला पारेको छ ।
सीमा स्तम्भ नम्बर ११९/८ (सानो) खोलाले बगाई हराईरहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचना झापाबाट सशस्त्र प्रहरी निरीक्षक भक्तबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सीमा स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा शुक्रबार फेला पारिएको हो । उक्त सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताईएको छ ।