पर्सा, फागुन २५: जिल्लाको वीरगंज महानगरपालिका २१ परवानीपुरबाट एपीएफ टोलीले बरामद गरेको चाँदीको तयारी गहना आइतबार भन्सार कार्यालय वीरगंजमा बुझाइएको छ ।
उक्त चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले शनिबार बिहान बरामद गरेको थियो ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६८ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा उक्त गहना वेवारिसे अवस्थामा फेला परेपछि बरामद गरिएको थियो।
बरामद चाँदीको गहना पाँउजु रहेको छ । तयारी पाँउजु तौल गर्दा करीब तीन किलो रहेको छ भने सुनचाँदी व्यावसायी संघ पर्साले निर्धारण गरेअनुसार उक्त चाँदीको गहना जर्ती र रसायन बाहेक शुद्ध चाँदी १ किलो ७ सय ८६ ग्राम रहेको छ ।
एपीएफ टोलीद्वारा माछाको भुरा बरामद
मोरङको विराटनगर महानगरपालिका १६ दरैयाबाट आइतबार एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली को २ ह ५५४३ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ ।
बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ ।