पाँचथर, कात्तिक ६ः जिल्लाको फिदिम नगरपालिका १३ लुङग्रुपास्थित पौवा भन्ज्याङ्गबाट एपीएफ टोलीले पात्ले र बन्ठे जातको करीब ३० लाख ७८ हजार रुपैयाँ बराबरको चिरान काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस राँकेबाट खटिएको एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको १७ सय नौ क्यूफिट चिरान काठ बरामद गरेको हो ।
डुँड सामुदायिक वन नजिकै वेवारिसे अवस्थामा रहेको उल्लेखित काठ एपीएफ टोलीले बरामद गरेको हो । बरामद काठ डिभिजन वन कार्यालय फिदिममा बुझाइएको छ ।
लागूऔषधसहित चार पक्राउ
ललितपुर जिल्लाको ललितपुर महानगरपालिका १५ हात्तीवनबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका १२ का २२ बर्षीय सविन आलेमगर, धादिङ थाक्रे गाँउपालिका ४ का २७ बर्षीय रणबहादुर आलेमगर, काठमाडौं महानगरपालिका १४ का ३६ बर्षीय राजकुमार रोका र ३० बर्षीय अजितकुमार श्रेष्ठ रहेका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण खुमलटारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
एपीएफ टोलीले उनीहरुको साथबाट चरेश दुई केजी, नोफिन ५० वटा, डाईजोल्याप ५० वटा, फोनीगाम ५० वटा र ६ वटा मोबाईल सेट बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोबाईल सेटसहित आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ ।
यसैगरी पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका २० का २३ बर्षीय सागर रसाईलीलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा वीनसीरेक्स १७ बोतल र नाईट्राभेट ट्याब्लेट ५५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको बताइएको छ ।