काठमाडाैं, माघ २४ः शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित छैटाैं केएनपि नेरोलेक महिला भलिबल प्रतियाेगितामा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब च्याम्पियन बन्न सफल भएकाे छ ।
विभागीय टिम नेपाल एपिएफ क्लबको अहिलेसम्मकाे विरासत तोड्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब पहिलोपटक केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको हाे ।
यसअघिको सबै पाँच पल्टको च्याम्पियन नेपाल एपिएफ क्लबलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अपराजित रहेर पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो न्यु डायमण्ड । डायमण्ड पहिलोपटक फाइनल पुगेको अवसरमा नै च्याम्पियन बन्न सफल भएकाे हो ।
चौथो सेटमा सुरुवातदेखि नै पछि परेको डायमण्डले २४–२६ ले गुमाउन पुग्यो २०–२१ को अवस्थामा एपिएफकी स्पाइकर निरुता ठगुन्ना स्पाइक गरेर ल्यान्डिङ गर्ने क्रममा घाइते हुन पुगेकी थिइन् ।
निर्णायक तथा पाँचौ सेटमा ३–३ को बराबरीमा अग्रता लिदै डायमण्डले १५–९ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । डायमण्डकी प्रतिभा माली प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ५० हजार रुपैयाँ र ट्रफी जितिन् ।
च्याम्पियन बनेसँगै डायमण्डले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । उपविजेता एपिएफले १ लाख ५० हजार प्राप्त गरेको छ । तेस्रो भएको पुलिसले ७५ हजार रुपैयाँ हात पारेको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।
माघ २१ गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा एपिएफ, आर्मी, पुलिस र डायमण्डले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । डायमण्डले लिग चरणमा पनि एपिएफलाई ३–१ को सेटमा हराएको थियो ।