एपमार्फत नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ गणना हुने

| 2022 Feb 18 | 11:03 am 2133

कञ्चनपुर, फागुन ६ः कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए ।

“मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ”, उनले भने, “एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।”

पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा गरिने उनले बताए । “त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निर्क्याैल हुन्छ”, उनले भने, “स्वयंसेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।”

स्वयंसेवक परिचालन गरी एपमार्फत चरा गणनका लागि दुई महिना अघिदेखि तयारी थालिएको उनले जानकारी दिए । चरा गणनाका लागि एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताइएको छ । यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ ।

चराको महत्व दर्शाउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे सर्वसाधारणलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ । एपमा नेपालभरि पाइने (हिमालदेखि तराईसम्मका) चराको सूची राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.