एन्फाद्वारा सी डिभिजन फुटबल छनोट तालिका सार्वजनिक

| 2021 Aug 21 | 07:58 am 1817

काठमाडौं, भदाै ५: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक सी डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ। एन्फाले शुक्रबार सातदोबाटोमा कार्यक्रम आयोजना गरी खेल तालिका सार्वजनिक गरेको हो।

यही भदौ १० गतेदेखि काठमाडौं उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्ने छन्। त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ।

सी डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ। उक्त लिग आगामी कात्तिक ८ गतेसम्म चल्ने छ। एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ। प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन्।

समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ। हरेक समूहको विजेता क्लब सी डिभिजन लिगमा छनोट हुनेछन्। एन्फा लिग संयोजक विज्ञानराज शर्माले छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको बताए।

उनले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा नै छनोट खेल खेलाउने जानकारी दिए। छनोट प्रतियोगितामा बागमती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुई-दुई क्लब रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.