काठमाडौं, असार २६ः एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाद्वारा जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरयुक्त बनाउनको लागि एन्फाको तर्फबाट सहयोग स्वरुप आवश्यक सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।
विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको फुटवल प्रतियोगिताको दौरानमा अभ्यासको लागि सुविधा सम्पन्न खेल मैदानको आवश्यकतालाई मध्येनजर गरी जंगी अड्डा परिसरमा रहेको खेलकुद मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउनको लागि एन्फाद्वारा आवश्यक सामग्रीहरु प्रदान गरिएको हो ।
उक्त खेल मैदानमा रहेको भिभिआईपि प्यारापिट मुनि रहेको २ वटा खेलाडी परिवर्तन गर्ने कोठामा खेलाडीहरुलाई आवश्यक पर्ने व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर २३/२३ वटा, फिजियोथेरापी वेड १/१ वटा, रेफ्रिजिरेटर २ वटा, ऐना १/१ वटा प्रदान गरेको छ ।
त्यसैगरी परिवर्तन कोठाको लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर ४ वटा, सोफा ४ वटा, टेवल २ वटा लगायत तीनवटै कोठाहरुमा कार्पेट, झ्यालहरुमा ट्रान्सलुसेन्ट स्टिकरहरु तथा रंग रोगन गर्ने कार्य सम्पन्न गरी नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, एन्फाका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । नेपाली सेनाको उक्त खेल मैदानको स्तरोन्नतिले राष्ट्रिय खेलकुदको सम्वर्द्धन र प्रवर्द्धनमा समेत थप टेवा पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।