काठमाडौं, असोज ३० : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान शुरु भएको हो ।
बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोधलगायतका काम सकिएको भए पनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो । संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् । निर्वाचनमा करीब दुई हजार चार सय मतदाता सहभागी हुनेछन् ।
बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । हिजो भोटिङ मेशिनबाट मतदान शुरु गरिएको थियो । तर चार भोट खसेपछि मेशिनमा गड्बडी आएको थियो । मेशिनले काम नगरेपछि आज कागजी मतदान गरिएको हो ।