काठमाडौं, साउन ३२ः कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा आइतबार एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको छ ।

मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् । गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धी उक्त समझदारीपत्रमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशीले हस्ताक्षर गरेका हुन् ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कुल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरी ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या २०५ शाखा हुने जनाइएको छ ।
गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट मिति २०७७ साल पौष महिनाको पहिलो हप्ता भित्रमा एकीकृत रुपमा कारोवार संचालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पुँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ भनी प्रमुख कार्यकारी अभिकृत लक्ष्मण प्रसाद शर्माद्वारा हस्ताक्षरित प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
