काठमाडौं, असोज १५ः सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले कोभिड १९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरुप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको अवस्थामा २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ ।
यस असाधारण समयमा ग्राहक महानुभावहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस योजनामा सहभागी हुन १६ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउनु हुन बैंकले सम्पूर्ण योग्य ऋणीहरूमा हार्दिक आह्वान गरेको छ । यस बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विब प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नेछन् ।
यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हित रक्षाको निमित्त आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वैशाख, जेठ र असार महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको जानकारी समेत गराएको छ । यस योजनामा ग्राहक महानुभावहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । हाल बैंकले असोज महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
यस बैंकबाट कर्जा उपभोग गरेका तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहक महानुभावहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप यस बैंकले कर्जा सहायता केन्द्रको स्थापना गरेको छ । यस कर्जा सहायता केन्द्रको स्थापना पश्चात् बैंकका ग्राहक महानुभावहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्नेछन् ।
ग्राहक महानुभावहरूले HELP टाइप गरी ३४४८८ मा एसएमएस SMS मार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com qT मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यस कर्जा सहायता केन्द्रमा ग्राहक महानुभावहरूले पहिलो सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको यस बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा हस्ताक्षरीत विज्ञप्तमा उल्लेख गरिएको छ ।