एनआईसी एशिया बैंकमा भाखा नाघेका कर्जाहरूको ८.९९ प्रतिशत कायम ब्याजदर गर्न ९ दिन बाँकी

| 2020 Oct 08 | 04:59 pm 3372

काठमाडौं, असोज २२ः सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले कोभिड १९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरुप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको अवस्थामा २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको सर्वविदितै छ ।

यस योजना अनुसार मानौं कुनै १ करोडको कर्जा वार्षिक १२ प्रतिशत ब्याजदरमा उपभोग गरिरहेका एक ग्राहक महानुभाव हुनेछ भने उनले एक वर्षमा ३ लाख रकम बराबरको लाभ लिन सक्नेछन् । उक्त लाभ हुनु भनेको यस योजनाका लागि योग्य ग्राहक महानुभावको लागि उनले बैंकमा चुक्ता भुक्तान गर्ने ब्याज रकममा २५ प्रतिशतको लाभ हुनु हो । यस असाधारण समयमा ग्राहक महानुभावहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले यति धेरै लाभ हुनेगरी बैंकले यो योजना ल्याएको हो । यस योजनामा सहभागी हुन अब मात्र ९ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले सम्पूर्ण योग्य ऋणीहरूमा हार्दिक आह्वान गरेको छ ।

बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विब प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नेछन् । यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को वैशाख, जेठ र असार महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेका छन् ।

यस योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । हाल बैंकले असोज महिनामा ल्याएको कर्जाको ब्याजदर सहुलियत योजनाबाट कोरोना भाइरसले आक्रान्त यस विषम परिस्थिति पश्चात् ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं सबलीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा हस्ताक्षरीत विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.