एडिबीसँग थप सहकार्य आवश्यकः अर्थमन्त्री

रिपोर्ट नेपाल | 2022 Feb 19 | 08:22 am 1293

काठमाडाैं,फागुन ७ः अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापकरूपमा लैजान एसियाली विकास बैंक (एडिबी)सँग नेपालले थप साझेदारी गर्नुपर्ने बताएका छन्।

शुक्रबार एडिबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले सो कुरा बताएका हुन्।

नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा एडिबीसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए। ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ,’ उनले भने, ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार शृंखलामा पुर्‍याउन पनि एडिबीसँगको हाम्रो सहकार्य आवश्यक रहेको छ ।’ उनले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुरामा पनि थप जोड दिन आवश्यक रहेको औँल्याए।

अर्थतन्त्र तथा व्यापारका सूचकांकलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ थियो। त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवं उत्साहित बनाउनुपर्ने उनले बताए।

छलफलमा उनले एडिबीले कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पुर्‍याएको सहयोगप्रति बैंकलाई धन्यवाद समेत प्रदान गरे। उनले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने रबाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको पनि उल्लेख गरे। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.