एक सातादेखि कर्णाली राजमार्ग ठप्प

| 2020 Aug 02 | 02:14 pm 1996

सुर्खेत, साउन १८ः अविरल वर्षाका कारणले दर्जनभन्दा बढी ठाउँमा पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग एक सातासम्म पनि खुलाउन सकिएको छैन । राजमार्ग अवरुद्ध भएका कारण जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

राजमार्गको दैलेख, कालीकोट सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरो पञ्छाउन नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दैखोला, कालेखोला, बगरेखोला, सुनारखोला, टाकुल्लाखोला, गगनेखोला र कालीकोटको नाग्माघाट, खाडाँचक्रलगायतका ठाउँमा पहिरो गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

राजमार्गको पहिरो हटाउन ३ वटा डोजरसहितको टोली खटिएको छ । तर लगातार पानी पर्ने र पहिरो आउने क्रम नरोकिएपछि राजमार्ग खोल्न थप समस्या भएको प्रहरीको भनाइ छ ।

आइतबारदेखि भने पानी पर्ने क्रम रोकिएकाले पहिरो हटाउने काम भइरहेको एसएसपी बास्तोलाले बताए । ‘आजबाट पानी पर्ने क्रम रोकिएको छ । जति सक्दो छिटो पहिरो पन्छाएर राजमार्ग सञ्चालन गर्ने काम भइरहेको छ’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.