एक लिटर दूध खरिद गर्दा उपभोक्ता थप ४ रुपैयाँ बढी तिर्न बाध्य

| 2019 Sep 18 | 08:50 am 2008

काठमाडौं, असाेज १: किसानले दूधको मूल्य नपाएको केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनको गुनासोपश्चात् सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन सिफारिस गर्‍यो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास सस्थान(डीडीसी) ले पनि भदौ २१ गतेदेखि मूल्य बढाउने निर्णय गर्‍यो ।डीडीसीले प्रशोधित दूध (प्याकेट) आधा लिटरको ३ रुपैयाँ बढाए पनि बजारमा भने ५ रुपैयाँ थपेर बिक्री भइरहेको छ ।

मूल्यवृद्धि गर्नुअघि प्याकेट दूध (आधा लिटर)को मूल्य ३५ रुपैयाँ थियो । डीडीसीले ३५ रुपैयाँबाट ३ रुपैयाँ बढाएर ३८ रुपैयाँ पुर्‍यायो । केही खुद्रा व्यापारीले भने ४० रुपैयाँमा बिक्री गरेका छन् । ‘सरकारले तोकेको रेटमा २ रुपैयाँ बढाएर बिक्री भएको छ ।

एक लिटर खरिद गर्दा उपभोक्ता थप ४ रुपैयाँ तिर्न बाध्य छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यो सरासर ठगी हो । कृषि मन्त्रालय र डीडीसीका कारण उपभोक्ताहरू मूल्यसँगै गुणस्तरमा पनि ठगिएका छन् ।’ सरकारले एक लिटरमा ६ रुपैयाँ बढाएको छ । उपभोक्ता १० रुपैयाँ तिर्न बाध्य छन् ।

डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले पनि आधा लिटरको ३८ रुपैयाँभन्दा बढी लिनु गलत भएको बताए । ‘दूधको मूल्य प्याकेटमा प्रिन्ट भएको भन्दा बढी लिन पाइँदैन । १० बजेपश्चात् फ्रिजमा राख्नुपर्ने हुँदा दिउँसो एक/दुई रुपैयाँ बढी पैसा लिन्छन् । उपभोक्ताले पनि सहज रूपमा लिएका छन्,’ उनले भने, ‘तर, बिहान बढी लिन पाइँदैन ।

कानुनअनुसार दिउँसो पनि तोकिएको मूल्यभन्दा बढी लिन पाइँदैन ।’ डीडीसीले डेढ साताअघि मूल्य बढाएपछि त्यसपश्चात् बजार नियमन नै गरेको छैन । बजार नियमन नहुँदा व्यवसायीहरूले मनोमानी मूल्य तोक्दै आएका हुन् । जानकारका अनुसार डीडीसीले मूल्य बढाएपछि बजारभाउ पनि अनुगमन गर्नुपर्छ । खुद्रा व्यापारीले मूल्य लिएको बारेमा पनि डीडीसी जानकार नै छ । बजारको नियमन भने गरेको छैन ।

‘खुद्रामा बढी मूल्य लिएको गुनासो सुनेका छौं,’ डीडीसीका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले भने, ‘मूल्य निर्धारण गर्दा पनि समस्या भयो । खुद्रा पैसा लिने/दिनेको पनि समस्या हो ।’ उनका अनुसार दूधको प्याकेटमा मूल्य प्रिन्ट नै गरिएको हुन्छ । बेलुकातिर होल्डिङ चार्जका रूपमा बढी लिएको उनले बताए । डीडीसीका अनुसार ८० प्रतिशत दूध बिहान नै खरिदबिक्री हुन्छ । बाँकी २० प्रतिशत दिउँसो/बेलुका खरिदबिक्री हुन्छ । दिउँसो बिक्री हुने दूधको मूल्य केही बढी लिएको बताए । खुद्रा व्यापारीहरूले भने बिहानकै समयमा बढी मूल्य असुल्दै आएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

डीडीसीका कार्यवाहक महाप्रबन्धक शैलेन्द्रकुमार घिमिरेले पनि फ्रिज र ज्याला जोडेर मूल्य केही बढाएको हुन सक्ने बताए । ‘हामीले पनि खुद्रामा ४० रुपैयाँमा खरिद गरेका छौं । ३५ हुँदा पनि ३८ रुपैयाँ तिरेको छु,’ उनले भने, ‘डीडीसीको बुथमा लिएको भए कारबाही हुन्छ । अन्यको जिम्मेवारी लिन सक्दैनौं ।

पसलको मूल्यको अनुगमन गर्ने दायित्व अन्य निकायको हो ।’ बिहानको समयमा दुई रुपैयाँ बढी लिनु उचित नभएको उनले बताए । ‘एक रुपैयाँसम्म बढी लिएको भए ठीक हुन्थ्यो । २ रुपैयाँ बढी होला,’ उनले भने, ‘बुथबाट बाहिर गएपछि एक/दुई रुपैयाँ थप्छन् । त्यो देखिएको छ ।’ उनका अनुसार मूल्यको अनुगमन गर्ने दायित्व आपूर्ति र राष्ट्रिय दुग्ध विकास बोर्डको हो । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.