- महेश सिंह
सिरहा, साउन ५ः जिल्लाको लहान नगरपालिका–१ मर्टियर्वाका १९ वर्षीय रोशनकुमार रामको हत्याको आशंकामादुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जयकुमार यादव र मुकुन्दकुमार कटुवाल रहेका छन् ।
केही दिन अगाडि लागूपदार्थ मुद्दामा पक्राउ परेका रामले धरौटीको लागि १० हजार रुपैयाँ तिर्न न सक्दा उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।
उनले कैदी साथीसंग १ हजार सापटी लिएका थिए । सापटी रकम नै उनको मृत्युको कारण बन्न पुगेको अनुसन्धानमा खुल्न आएको छ ।
जेलमा रहेका अर्का कैदी युवक जयकुमार यादवले रामलाई हजार रुपैया दिएको थियो । भोलिपल्टै जयकुमारले रोशनलाई घुम्नका लागी भन्दै लगे तर दुर्भाग्यवश चार दिनपछि उनको बताहा खोलामा उनको लास भेटियो ।
उनको शव ३० असारमा मिर्चैया–९ बतहा खोला पुलनजिक गमहरिया महेशपुर जाने बाटोको डिलमुनि काँसघारीको पानी जमेको खाल्डोमा भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले कुहिएको अवस्थामा शवलाई पोस्टमार्टम गर्न लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा ल्याएको थियो ।

शवको १ साउनमा पोस्टमार्टम गरिएको जानकारी प्रहरी श्रोतले जनाएको छ । कपडाको कारणले शवलाई चिनेका रोशनका बुबा सिफैतले बताए ।
केही दिनपछि जयकुमार यादव पनि जेलबाट रिहा भएपछि २६ असारमा एक हजार सापटी फिर्ता लिन स्थानीय एक युवा साथी २२ वर्षीय मुकुन्दकुमार कटुवाललाई लिएर रोशन रामको घरमा गएका थिए ।
जयले पैसा देउ र नदिए जे पनि हुन सक्ने भन्दै रोशनलाई धम्काएको उनकी आमा सुनैरदेवीले बताइन् ।
रोशन राम भर्खरै बिहे गरेका युवक थिए र पारिवारिक श्रोत अनुसार उनी वैदेशिक रोजगारका लागि प्रतीक्षारत थिए ।
छोराको हत्याको आरोपमा सिफैतले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उनको जाहेरीका आधारमा आइतबार जय र मुकुन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी जैसवालले बताए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल जैसवालका अनुसार १० असारमा धरौटी बुझाएपछि रोशन राम छुटेका थिए । कर्जा लिई १० हजार धरौटी बुझाए पछि उनी रिहा भएको उनका बुबा सिफैत रामले बताए ।