सिरहा, वैशाख १३: जिल्लामा एक महिलालाई जिउँदै शरीरमा आगो लगाएर जलाउने प्रयास भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कन्चन मण्डललाई पति र सासुले जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् ।
कन्चनलाई आगो लगाउँदै गरेको देखेपछि छिमेकीले उनलाई उद्धार गरी धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको छ ।
गम्भीर घाइते कन्चनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको शरीर आधिजसो भाग जलेको छ। यसरी श्रीमतीलाई जिउँदै जलाउने पति बेचन मण्डल फरार रहेका छन् । तर, उनका सासुलाई भने प्रहरीले पक्राउ गरेको छ ।