एक जना चिकित्सकका भरमा मनाङ जिल्ला अस्पताल

रिपोर्ट नेपाल | 2020 Sep 09 | 01:56 pm 1796

मनाङ, भदौ २४ः करारका एक चिकित्सकका भरमा मनाङ जिल्लाले अस्पतालको सेवा दिई रहेको छ ।

प्राय धेरै चिकित्सकहरु सुगम क्षेत्रमा रहने भएपछि ग्रामीण क्षेत्रमा भने चिकित्सकको अभाव पहिलादेखि नै हुने गरेको छ । त्यही परम्परालाई पछ्याउँदै जिल्ला अस्पताल मनाङमा मेडिकल अधिकृत एवं कोरोना फोकल पर्सन डा सन्तोष अधिकारी एकमात्र चिकित्सक रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले मनाङबाट एकजना चिकित्सकलाई पनि सरुवा गरी पोखरा तानेपछि मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको हो ।

मनाङ जिल्लाभरको स्वास्थ्य सेवाका लागि अस्पताल पनि एउटै र अस्पतालमा कार्यरत चिकित्सक पनि एक जना मात्र रहेको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।

कोभिडका बिरामीका लागि उपचार गराउन कस्तो समस्या देखिन्छ, सोही अनुसार उपचार गर्नुपर्ने हुन्छ तर यहाँको अस्पतालमा एक जना मात्रै चिकित्सक हुनुहुन्छ, जिल्लावासीको उपचारका लागि एक जनाले मात्रै गर्दा समस्या र चुनौती छ’, प्रजिअ गिरी भने, जिल्लाको एक मात्र चिकित्सक बिदामा बस्नुपर्ने वा बिरामी परे अझ बढी समस्या हुन्छ, यो समस्या समाधानका लागि छलफल भइरहेको छ ।

हाल डा अधिकारी दैनिक बिरामी र कोरोना सङ्क्रमितको सेवामा व्यस्त छन् । दुई जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पताल मनाङमा दरबन्दीका चिकित्सक एक जना पनि छैनन् । अहिले भएका चिकित्सक पनि करारका हुन् ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार जिल्लामा दुई चिकित्सक, दुई स्टाफ नर्स, अहेब, सहयोगी गरी ११ जनाको दरबन्दी भए पनि अहिलेसम्म अस्पतालमा चिकित्सकसहित ४ जना करारका कर्मचराीले सेवा दिइरहेका छन् । जसमा एक चिकित्सक, एक नर्स, एक सिनियर अहेब र एक जना ल्याब टेक्निसियन छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.