मकवानपुर, मंसिर २४ – मकवानपुरमा गत मंसिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेल संग एक करोड फिरौती मागेको आरोपमा हेटौँडा उपमहानगरपालिका–९ का ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री र सुर्यप्रसादका भतिजा ३३ वर्षीय निश्चल पौडेल सहित तीन जनालाई प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ।
प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार पक्राउ परेको समूहका मुख्य योजनाकार ‘निश्चलले नै फिरौती रकम माग्न तर्साउने उद्देश्यले घरको भित्तामा गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो। उनीहरुले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन।,’ फिरौती नदिए जे पनि हुनसक्छ भनेर आरोपितहरुले फोनबाट धम्की दिएका थिए।
आरोपितहरुले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागुऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।योजनाकार निश्चल सहित तीन जनाको साथबाट पेस्तोलसहित २० थान गोली, दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र रु ५० हजार बरामद गरेको छ। पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

