बुटवल, वैशाख २६ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलले नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई ६९० रुपैयाँ क्षतिपूर्ति दिएको छ । नेकपा महासचिव पौडेलले प्रधानमन्त्री निवाससँग जोडिएको बालुवाटार जग्गा प्रकरणमा आफू ठगिएको बताएका थिए ।
बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउँदा नेकपा महासचिव विष्णु पौडेल ठगिएको भन्ने सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाको अभिव्यक्तिलाई व्यंग गर्दै नेपाल तरुण दल क्षेत्र न २ रुपन्देही र तरुण दल बुटवल उपमहानगर समितिले एक/एक रुपैयाँ संकलन गरेर ६९० रुपैयाँ क्षतिपूर्ति दिएको हाे । तरुण दलले उक्त रकम इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत विष्णु ज्ञवालीलाई बुझाएको छ ।

तरुण दलले साे रकम प्रधानमन्त्री केपि ओली र गृहमन्त्री रामबहादुर थापा समक्ष पठाउन आग्रह समेत गरेको छ । अभियानबाट उठेको रकम दिँदै नगरसभापती सुजन पुनले भने, ‘विष्णु पौडेल जी ठगिनुभएको र सरकारका प्रवक्ता गोकुल बास्कोटाको भनाइलाई आत्मसात गर्दै सहयोग संकलनमा लागेको हौँ ।’
पौडेलले ‘प्रचलित कानुनबमोजिम लाग्ने राजश्व लिइ रजिष्ट्रेशन पास गरिदिएको जग्गा खरीद गरी लिएको’ लिखित प्रस्टिकरण दिइसकेका छन्। त्यसभन्दा एक कदम अगाडि बढेर संचारमन्त्री बाँस्कोटाले पौडेलको काँध थापिदिँदै भन्नुभएकाे थियाे – ‘उहाँ ठगिनुभयो, उहाँलाई त क्षतिपूर्ति उपलब्ध गराउनु पर्छ।’
क्षतिपूर्ति हस्तान्तरण कार्यक्रममा तरुणदल पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशी, तरुण दल क्षेत्रीय सभापति हसन्त लामा, नेविसङ्घ निवर्तमान केन्द्रीय सदस्य टंक पाण्डे, नेविसङ्घ लुम्बिनी वाणिज्य क्याम्पसका सभापति सुरज क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
सरकारले नेकपा महासचिव ठगिएकाे भन्ने अभिव्यक्ति दिएपछि नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ लगायतका सङ्गठनले एक रुपैयाँ सङ्कलन अभियान चलाएका थिए ।