एक्जिएटा र एनसेलबाट ७१ अर्ब असुल्न सर्वोच्चको परमादेश

| 2019 Feb 06 | 06:24 pm 3010

काठमाडाैं, माघ २३  : सर्वोच्च अदालतले एनसेल बिक्रीको लाभ कर एक्जिएटा कम्पनी र एनसेलबाट असुल्न सरकारका नाममा परमादेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित सर्वोच्चको बृहत् पूर्ण इजलासले बुधबार कर असुलीको परमादेश दिएको हो। रिट निवेदक र एनसेलका तर्फबाट बहस सकिएपछि सर्वोच्चले कर असुलीको फैसला गरेको हो।

एनसेल कर विवादमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित पाँचजनाले रिट दायर गरेका थिए। एनसेलले आफूले कर तिर्नु नपर्ने दाबी गर्दै भिन्नै रिट दायर गरेको थियो। एनसेलले ३८ अर्ब बढी कर तिर्न बाँकी छ । यसअघि उसले १५ प्रतिशत कर भने तिरिसकेको छ ।

प्रधानन्यायाधीशमा राणाको नियुक्तिपछि यो मुद्दालाई उनले प्राथमिकता दिएका थिए। तीन वर्षअघि टेलियासोनेराले बेचेको एनसेलमा लाग्ने करका विषयमा पटक पटक बिबाद भैरहेको थियो। यस प्रकरणमा हालसम्म तिर्नु पर्ने कर ब्याज सहित ७१ अर्ब पुगेको छ ।

अदालतले यस प्रकरणमा  जोडिएका अन्य कम्पनीको रिट निवेदन खारेज गरेको छ । सर्वोच्चले पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले दिएको निवेदनमा मात्र रिट जारी गर्दै अर्का रिट निवेदक भावेश गौतमको रिट निवेदनसमेत खारेज गरेको हो  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.