काठमाडौं, बैसाख ७ः यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए ।
पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए । यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन् ।
अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अप्रिल १६ तारिख (२०७८ वैशाख ३ गते) चुचरोमा टोली पुगेको थियो । अप्रिल १६ तारिखमा छ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्णको सफल आरोहण भएको शेर्पाले बताए । सेभेन समिट ट्रेकबाट आरोहणका लागि गएको १७ जनाको टोलीमा १५ जनाले सफल आरोहण गरेको जनाइएको छ । श्रेष्ठसहितको टोलीले वैशाख ३ गते शुक्रबार बिहान १ः१५ बजे अन्नपूर्णको चुचुरोमा पुगेका शेर्पाले जानकारी दिए ।
श्रेष्ठका अनुसार बेसक्यापदेखि छ दिनको यात्रामा अन्नपूर्ण हिमालको चुचुरोमा पुग्दा धेरै खतरा र जोखिम टोलीले मोलेको थियो । खाना, अक्सिजन, डोरीलगायतका सामग्री हेलिकोप्टरबाट मगाएर आरोहण गर्न टोली सफल भएको उनको भनाइ छ ।