एकै दिन १ सय ७७ जना आरोहीले गरे सगरमाथाको सफल आरोहण

रिपोर्ट नेपाल | 2021 May 24 | 12:58 pm 2301

काठमाडाैं, जेठ १०ः आइतबार एकै दिन १ सय ७७ जना आरोहीले सगरमाथाको आरोहण गरेका छन् । आरोहीहरुले मौसममा खरावीका कारण एकै पटक चुचुरो पुग्ने लक्ष राखेपछि एकै दिन धेरै संख्यामा आरोहण भएको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

चार वर्ष अघि एकै दिन २ सय जनासम्म चुचुरो पुगेको रेकर्ड छ । आइतबार बिहान ५ः०० बजेबाट शुरु भएको आरोहण दिउँसो ३ बजेसम्ममा सम्पन्न गरी आरोहीहरु फर्केका थिए ।

सोमबारदेखि हिमपात हुने बढी हावा चल्ने मौसम भएकाले फेरि एक साता आरोहण स्थगित गरेर जेठ १५ मा मात्र आरोहण गर्ने तयारी थालेको एजेन्सीहरुले जनाएका छन् ।

यस वर्ष ४४ आरोहण दलबाट ४ सय ८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताइएको छ ।

आरोहीमध्ये ३ सय १५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिङ्गी आरोही छन् । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.