एकै घरका चार बालबालिकामा दादुरा

रिपोर्ट नेपाल | 2023 Jan 04 | 08:16 am 1785

बाँके,पुस २०ः नेपालगञ्जमा एकै घरका चार जना बालबालिकामा दादुरा देखिएको छ । एकै घरका पाँच जना बालबालिकाको ‘स्याम्पल’ काठमाडौं पठाइएकोमा चार जनामा दादुरा पुष्टि भएको हो ।

नेपालगञ्जको फुल्टेक्रामा ५ देखि १२ वर्ष उमेरका तीन बालिका र एक जना बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए । त्यही टोलमा १७ जना शंकास्पद भेटिएका छन् । स्वास्थ्यकर्मीका अनुसार, दादुरा भाइरसबाट सर्ने खतरनाक सरुवा रोग हो । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वास तथा हाछ्यु गर्दा सर्दछ । दादुराको कारणबाट निमोनिया, झाडापखाला, कुपोषण भई शिशुको मृत्यु हुने गर्दछ ।

फुल्टेक्रामा दादुरा देखिएपछि स्वास्थ्यकर्मीको दौडधुप बढेको छ । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य कार्यालय, बाँके र नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी नियन्त्रणको प्रयासमा लागेका छन् ।नेपालमा वर्षौंदेखि दादुराको खोप लगाउने गरिएको छ । अहिले दादुरा देखिएका बालबालिकाले उक्त खोप नलगाएको पाइएको छ ।

नेपालगञ्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई दादुराको खोप लगाउने गर्दछ, ९ महिना र १५ महिना उमेरमा । १५ महिनाभित्र खोप लगाउन छुटेका बालबालिकालाई ५ वर्षभित्र पनि खोप लगाउने गरिन्छ । नेपालगञ्जको दादुराको कभरेज ९० प्रतिशत छ । यो कभरेजको प्रतिशत बढी भए पनि खासमा यहाँका स्थानीय बासिन्दाका बालबालिकाले खोप लगाएको पाइँदैन । बाहिरबाट यहाँ बसोबास गरेका अन्य समुदायका बालबालिकाले खोप लगाउँछन् ।

नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने उद्घोष गरेको छ । निवारण भन्नाले दश हजारमा एक जनाभन्दा कम रोगी देखिनु हो ।नेपालगञ्जमा ८-९ वर्षको फरकमा दादुरा देखिने गरेको छ । मधेसी र मुस्लिम समुदायका बालबालिकामा खोपको कभरेज कम हुँदा बेलाबेलामा दादुरा देखा पर्ने गरेको सम्बद्धहरू बताउँछन् । अहिले चार जनालाई दादुरा देखिएको ठाउँमा शिक्षकलाई समेत दादुरा देखिएर निको भएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनले एउटा टोल वा बस्तीमा चार हप्ताभित्र पाँच जनाभन्दा बढीलाई दादुरा देखिएमा महामारीको रूपमा लिने गर्दछ । यस हिसाबले एकै घरमा चार जनालाई पुष्टि भएको र आसपासका १७ जनामा लक्षण देखिएकाले त्यहाँ दादुराको महामारी फैलिएको भन्न सकिन्छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.