एकै गाउँमा फल्यो करोडको सुन्तला

रिपोर्ट नेपाल | 2022 Dec 23 | 01:50 pm 1469

म्याग्दी, पुस ८: बेनी नगरपालिका–३ राखु सुन्तला गाउँमा परिणत भएको छ । यहाँका कृषकले एक करोड रुपैयाँ मूल्य बराबरको सुन्तला फलाएका छन् ।

गाउँभरी सुन्तला खेती गरेका राखुका कृषकलाई बगैचाबाट टिपेर बजार पठाउने चटारो छ ।  पूर्व फर्किएको भिरालो पाखोमा अवस्थित राखुमा ५० घरधुरीको बसोबास छ । सबैले सुन्तला खेती गरेका छन् ।

राखुका अगुवा कृषक रामबहादुर घर्तिमगरले यसपाली गाउँभरि एक करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको बताए । ‘गत वर्ष ७० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको थियो,’उनले भने ‘यसपाली अनुकुल मौसम, नयाँ बिरुवा थपिएका र फल राम्रो लागेकाले गत वर्षको भन्दा करिब ३० लाख मूल्य बढीको सुन्तला उत्पादन भएको अनुमान गरेका छौं।’

एकजना कृषकले ५० हजार रुपैयाँदेखि सात लाख रुपैयाँ मूल्य बराबरको सुन्तला फलाएका घर्तीले बताए । सुन्तला किन्नका लागि बेनी, पोखरा र काठमाडौका ब्यापारीले बगैचामै आएका छन्। प्रतिकिलो ७० रुपैयाँका दरले बगैचाबाटै सुन्तला बिक्री भइरहेको राखुकी कृषक पुष्पा घर्तीमगरले बताइन् ।

‘व्यापारीले गाउँमै आएर बगैचामै किनेर सुन्तला लगेका छन, बजारको समस्या छैन,’उनले भनिन् ‘सुन्तलाले हाम्रो जिवनस्तरमा परिवर्तन ल्याएको छ ।’घरखर्च चलाउन र छोराछोरी पढाउन सहज भएको पुष्पाले बताइन् । युवाहरुले वैदेशिक रोजगारको विकल्पमा गाउँमै सुन्तला खेति गर्न थालेका छन् ।

धान, कोदो, मकैको विकल्पमा सुन्तला खेति गरेको कृषक नरप्रसाद आलले बताए । ‘वर्षभरीमा दुई मुरी अन्न फल्ने बारीको सुन्तला बेचेर डेढ लाख भन्दा बढी आम्दानी हुन्छ,’उनले भने, मूल्य, उत्पादनसँगै आम्दानी बढेको छ ।’

स्थानीय कृषकहरुले चन्दा सहयोग जुटाएर छ वर्षअघि नयाँ पुलदेखि राखु हुदै भकिम्ली जोड्ने सडक निर्माण गरेका थिए । सडक सुविधा भएपछि सुन्तला निकासी गर्न सहज भएको छ । पहिले बेनीका डोके ब्यापारीमा सिमित राखुको सुन्तला सडक यातायातको सुविधासँगै देशका विभिन्न बजारमा पुगेको छ ।

बाँदर र रोगकिरा नियन्त्रण तथा वगैचा व्यवस्थापनका लागि सिप र प्रविधि आवश्यक रहेको स्थानीय कृषक खिम पुनले बताए । बेसिजनमा बजारमा सुन्तला बेचेर बढी मूल्य पार्नका लागि चिस्यानगृह र व्यवस्थित सिचाई सुविधाको आवश्यक रहेको पुनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.