काठमाडौं, कात्तिक ११ : एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई ९-० ले हराएको छ । चोनबुरी रंगशालामा नेपालले एकतर्फी खेलमा पाकिस्तानलाई पूर्ण रुपमा दबाबमा राख्दै सहज जित दर्ता गरेको हो ।
पहिलो हाफमा नेपालको लागि मन्जली कुमारी योन्जनले दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकि थिइन् । दायाँ विङबाट आएको क्रस गोलरक्षकले बचाउन नसक्दा मन्जलीले ६ यार्ड बक्स भित्रबाट सहजै गोल गरिन् । ३१ औं मिनेटमा सम्झना लावतीले नेपालको अग्रता दोब्बर पारिन् । मन्जलीको क्रसमा उनले ६ यार्ड बक्सभित्रबाट गोल गरेकी हुन् । अलिसा जिम्बाले ३७ औं मिनेटमा क्रसबाट आएको बललाई पेनाल्टी क्षेत्रभित्रबाट पोस्टको दिशा दिंदै ३-० को अग्रता दिलाइन ।
दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता बढाएको थियो । ४८ औं मिनेटमा सम्झना लावतीको क्रसमा पुजा रानाले हेडरमार्फत गोल गरिन् । त्यसको केहि मिनेटमै पुजाले अर्को गोल थपिन । पाकिस्तानी डिफेन्डरले दिएको ब्याक पासलाई उनले कन्ट्रोल गर्दै पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरेकी थिइन् । ५७ औं मिनेटमा निशा थोकरले अर्को गोल गरिन् । उनले बायाँ विङबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो ।
७४ औं मिनेटमा निशाले पेनाल्टीबाट गोल गर्दै नेपाललाई ७-० को अग्रता दिलाइन । निशाले नै ८५ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता बढाइन । कप्तान सरु लिम्बूले ८९ औं मिनेटमा गोल गर्दै ९-० ले अगाडी बढाइन । उनले दायाँ विङबाट गरेको क्रस गोलरक्षकले बुझ्न नसक्दा सिधै गोल भएको थियो ।
नेपालले खेलको अधिकांश समय पकड बनाएपनि पोस्टमा गरेको आक्रमण सटिक हुन सकेन । अन्य टोलीले पाकिस्तानविरुद्ध १८-० को जित दर्ता गरेका कारण नेपाली टोली पनि सुरुवात देखि हतारिएको थियो । खेलको लगभग सम्पूर्ण समय पाकिस्तानको हाफमै बितेको थियो । नेपालका लागि प्रभावशाली फरवार्ड रेखा पौडेल पाकिस्तानविरुद्ध खेलेकी थिइनन् । पछिल्लो खेलमा भारतविरुद्ध दुई गोल गरेकी रेखा लगातार दोस्रो खेलमा पहेंलो कार्ड पाएपछि प्रतिबन्धित भएकी हुन् ।
यससँगै नेपाल एएफसी यू-१९ च्याम्पियनसिपको अर्को चरणमा पुग्ने सम्भावना बलियो भएको छ । अब समूहको अर्को खेलमा थाइल्याण्डले भारतलाई पराजित गरेमा नेपाल समूहको दोस्रो स्थानमा रहेर अन्तिम चरणमा छनोट हुनेछ । प्रतियोगिताको अन्तिम चरण पनि थाईल्यान्डमा हुने भएकाले नेपाल दोस्रो स्थानमा रहेपनि छनोट हुने भएको हो ।