हुम्ला, असोज ३१ः पहिरोले क्षति पु-याएको हिल्दुम साना जलविद्युत् आयोजनाको नहर जनश्रमदानबाट मर्मत सुरु भएको छ। मर्मतका लागि बजेटको तत्काल व्यवस्था हुन नसकेपछि स्थानीय प्रशासन, सुरक्षाकर्मी, स्थानीयको सहभागितामा मर्मत थालिएको जनाइएको छ।
हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले पहिरोबाट क्षति पुगेको करिब ४० मिटर नहरको मर्मत गर्ने काम जनश्रमदानबाट सुरु भएको जानकारी दिए।
एक हप्तासम्म गरिने जनश्रमदानबाट मर्मत कार्य सम्पन्न गरी अस्थायी रूपमा भए पनि विद्युत् उत्पादन नियमित गरिने लक्ष्य छ। हुम्लामा १३ दिनदेखि विद्युत् सेवा अवरुद्ध छ। मर्मतका लागि बजेटको व्यवस्था तत्काल हुन नसक्ने भएकाले जनश्रमदानबाटै मर्मत सुरु गरिएको प्रमुख ऐडीले बताए।
केन्द्रको बजेटमा नहरको मर्मत कार्य भइरहेको समयमा नहरकै ‘ओभर फ्लो’ क्षेत्रमा ठूलै पहिरो गएको थियो। उनका अनुसार पछिल्लो पटक गएको पहिरोबाट ३५ लाख रुपियाँ बराबर क्षति भएको छ। यसैबीच सर्केगार्ड गाउँपालिका–१ को जैरगाउँका विभिन्न बस्तीका १५० घरमा पहिरोले क्षति पु-याएको छ । दशैँमा कर्णाली क्षेत्रमा परेका पानीले मानवीय तथा भौतिक क्षति पु-याएको थियो। जैरगाउँका पहिरोपीडित रूपलाल रावतले गाउँका पाँचवटा बस्तीका १५० घर पहिरोले क्षति पु-याएको जानकारी दिए।
घर पहिरोमा परेपछि पीडितहरू त्रिपाल वा आफन्तको घरमा बस्न बाध्य भएका छन्। सो गाउँका पूर्ववडाध्यक्ष गोकुल बुढाले पहिरोले मानवीयका साथै ठूलो भौतिक क्षति पु-याएको बताए। यो क्षति जैरगाउँका लागि अहिलेसम्मकै ठूलो हो। उनले मौसममा सुधार आएपछि प्रहरीले बस्तीका घरघरमा पुगेर क्षतिको विवरण सङ्कलन गरिरहेको छ। गाेरखापत्र दैनिकबाट