गुल्मी, भदौ ५ : गुल्मीमा निर्माण व्यवसायीले धेरै कामको ठेक्का लिने तर सयमा पूरा गर्न नसक्ने परिपाटीलाई अत्य गर्नका लागि कडा कानुन बनाएको छ । गुल्मीका निर्माण व्यवसायी र स्थानीय तहका जनप्रतिनिधिले एउटा निर्माण कम्पनीले दुईवटा भन्दा बढी निर्माणको काम गर्न नपाउने गरी नियम बनाएका हुन्।
बेलाबेलामा तोकिएको समयमा काम पूरा गर्न नसक्ने, काम गरे ता पनि गुणस्तरहीन काम गरेको तीव्र आलोचना भइरहँदा मंगलवार सदरमुकाम तम्घासमा निर्माण व्यवसायी संघ गुल्मीले एक कार्यक्रम गरी यस्तो कानुन बनाए हो ।
कार्यक्रममा जिल्ला स्थित १२ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितको टोलीले सहमति गरेका छन् । निर्माण व्यवसायीले तेस्रो निर्माणको ठेक्का लिनका लागि पहिलो निर्माण कामको ८० प्रतिशत कार्य सम्पन्न भैसकेको हुनुपर्ने निर्णय भएको निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोखरेलले बताए ।
निर्माण व्यवसायीले काम गर्ने सिलसिलामा कमी कमजोरीमा सुधार ल्याउन र सुझाव लिने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिसँग फरक खालको कार्यक्रम गरिएको अध्यक्ष पोखरेलले बताए । निर्माण कार्य सम्झौता अवधिभित्र काम सम्पन्न गर्न नसके व्यवसायीलाई २ वर्ष ठेक्का नदिने समेत सहमति गरेका छन् ।
निर्माण व्यवसायी संघ गुल्मी र १२ वटै स्थानीय तहका जनप्रतिनिधिबीच भएको सहमतिमा नयाँ निर्माण व्यवसायी फम दर्ता गर्न २५ हजार शुल्क र नवीकरणका लागि ५ हजार लिने निर्णय गरेका छन् ।