ऋणको बोझले थलियो रंगशाला

रिपोर्ट नेपाल | 2023 Mar 22 | 08:05 am 1385

चितवन, चैत ८: गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण डेढ वर्षदेखि रोकिएको रोकियै छ। धुर्मुस–सुन्तली फाउन्डेसनले ऋण लागेका कारण बनाउन नसक्ने भन्दै हात उठाएपछि काम ठप्प भएको हो। उक्त संस्थाले परियोजनाको स्वामित्व लिन सरकारलाई आग्रह गरे पनि ऋणको भार कसले बोक्ने भन्ने टुंगो लागेको छैन। ऋण तिर्ने उपायको टुंगो नलाग्दा भरतपुर महानगरपालिकाले काम बढाउन सकेको छैन।

‘स्वामित्व लिइदिनका लागि सरकारी निकाय धाउँदा–धाउँदै म नपुगेको ठाउँ कहीँ छैन’, फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले भने, ‘म उधारो गरेरै देशको रंगशाला ठड्याउँछु भनेर लागेको थिएँ। बोलकबोल रकम आउला भनेर काम गरेँ। तर, पैसा आएन। त्यसैले समस्या आएको हो।’
फाउन्डेसनका अनुसार रंगशालामा ५७ करोड ९२ लाख खर्च भएको हो। ३९ करोड ८० लाख मात्रै सहयोग संकलन भयो। उधारो तिर्न बाँकी १८ करोड ४३ लाख कसले तिर्ने भन्ने टुंगो नलाग्दा निर्माण प्रक्रिया रोकिएको हो।

महानगर प्रमुख रेणु दाहालले ऋणको भारको टुंगो नलागेकाले काम अघि नबढेको बताइन्। ‘अबको काम अघि बढाउन कुनै समस्या छैन। संघीय सरकारले २२ करोड र प्रदेश सरकारले छुट्ट्याएको ५ करोड रुपैयाँ खर्च गर्नै पाएको छैन। ऋण तिर्ने कसरी भनेर उपायको खोजी गरेकै एक वर्ष हुन लाग्यो’, दाहालले भनिन्, ‘अब अन्तिम निर्णय हुन लागेको छ। केही दिनभित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर ऋण तिर्न अनुदान लिएर बाँकी काम सुरु गर्ने तयारी हुँदै छ।’

हामी जिम्मेवारीबाट भागेका छैनौं । सरकारले स्वामित्व लिएर निकास दिए हुन्थ्यो । आज पनि हामी रंगशाला बन्नुपर्छ भनेर लागेका छौं ।
सीताराम कट्टेल – अध्यक्ष, धुर्मुस–सुन्तली फाउन्डेसन

विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुगेकामा नेपाली टोलीलाई बधाईको ओइरो लागिरहँदा रंगशाला भने अलपत्र छ। सरासर काम भएको भए यसपटकको खेल यही रंगशालामा हुन सक्थ्यो। दर्शक सुविधासम्पन्न प्यारापिटमा बसेर खेलको मज्जा लिन पाउँथे। अन्य संरचना बन्न समय र खर्च लाग्ने भए पनि दुई महिना काम गरेको भए अन्तर्राष्ट्रिय प्रतियोगिता अहिले गर्न मिल्थ्यो। तर, काम रोकिएपछि रंगशालामा झार पलाएको छ। पिलरका रडमा खिया लागेका छन्। भरतपुर १५ मा निर्माणाधीन रंगशालाको बेहाल दृश्यले जो कोहीलाई खिन्न बनाउँछ।

क्रिकेट रंगशाला बनाउन सरकारले कदम चाल्नुपर्ने बताउँछन् नेपाल क्रिकेट संघ चितवनका बोर्ड सदस्य अनिल अधिकारी। ‘खेल जितेपछि मात्रै चर्चा हुन्छ। त्यसपछि राज्य संयन्त्र मौन हुन्छ’, अधिकारीले भने, ‘अलपत्र परेको रंगशाला निर्माणमा ढिलाइ हुँदा धेरै असर गरेको छ। अब ढिलाइ गरे दीर्घकालीन असर हुन्छ। त्यसैले निर्माण जिम्मेवारीको टुंगो लगाइहाल्नुपर्छ।’

भरतपुर महानगरपालिका–१५ शान्ति चोकमा रहेको रंगशालाका ६ ब्लक रहेको प्यारापिटमध्ये चारवटाको पहिलो चरणको काम सकिएको छ। दर्शक बस्ने १६ मध्येचार तहको सिँढी बनेको छ। दुइटा भीआईपी ब्लकको जग हालिएको छ। स्वामित्वको टुंगो नलाग्दा यी संरचना नै बिग्रने अवस्थामा छन्। रंगशालाको काम गत वर्षको भदौदेखि रोकिएको हो।

यसमा एउटै कारण आर्थिक स्रोतको अभाव हो। निर्माणमा संलग्न फाउन्डेसनका अनुसार ३५ प्रतिशत काम भएको छ। उसले करिब १८ करोड ऋण देखाएको छ। महानगरपालिकाले ऋण धेरै भएकै कारण स्वामित्व लिन सकेको छैन। महानगरले आर्थिक र प्राविधिक मूल्यांकन गरी सरकारलाई स्वामित्वका लागि अनुरोध गरेको छ। भरतपुर महानगरपालिका र फाउन्डेसनबीच २०७५ माघ १६ गते सम्झौता भएको थियो।

त्यस क्रममा महानगरपालिकाले उपलब्ध गराएको २० बिघा ८ कट्ठा जग्गामा फाउन्डेसनले रंगशाला बनाउने भनिएको थियो। सम्झौतापत्रमा ‘विशेष परिस्थिति सिर्जना भएको अवस्थाबाहेक रंगशाला शिलान्यास भएको मितिले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरेर फाउन्डेसनले महानगरपालिकालाई हस्तान्तरण गर्ने’ भनिएको थियो।

‘हामी जिम्मेवारीबाट भागेका छैनौं। निर्माण प्रक्रियाको सहजीकरणका लागि हिँडेका छौं। हामी त सरकारको सहयोगीको भूमिका निर्वाह गर्न अघि बढेका हौं’, कट्टेलले भने, ‘सरकारले स्वामित्व लिएर निकास दिए हुन्थ्यो। महानगरले नेतृत्व लिए म स्यवम्सेवक भएर बस्छु। आज पनि हामी रंगशाला बन्नुपर्छ भनेर लागेका छौं। तर, अहिले हामीलाई खेद्ने काम भएको छ।’

रंगशाला निर्माण प्रकरणमा अनावश्यक आरोप लागेको गुनासो गर्दै कट्टेलले भ्रष्टाचार नगरेको बताए। सरकारको निर्णय नआएका कारण हिसाब देखाउन नमिलेको दाबी उनले गरे। सामाजिक सञ्जालमार्फत मानसिक यातना भोगेकाले न्याय पाउनुपर्ने उनको भनाइ छ। अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.