उर्जामन्त्री भुसाल र प्रचण्डसहितको टोली मनाङमा

| 2021 Aug 07 | 03:35 pm 2685

मनाङ, साउन २३ः बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् ।

असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु गएका हुन् । जिल्लाका विभिन्न स्थानमा पुर्याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उनीहरु मनाङ पुगेका हुन् ।

पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति पुर्याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

टाेलीले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।

विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

मर्स्याङ्दी नदीमा आएको बाढीपहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.