उम्मेदवारको ध्यान मुख्यमन्त्रीतर्फ

| 2022 Nov 06 | 07:08 am 1029

कास्की, कात्तिक २०ः मुलुकका अधिकांश जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कसले बाजी मार्लान् भन्ने विषयमा कार्यकर्ताबीच जोड–घटाउ चलिरहेका बेला गण्डकी प्रदेशमा भने प्रदेश सभातर्फ धेरैको चासो रहेको पाइएको छ।

पार्टीले नै कनिष्ठ नेतालाई प्रनिनिधि सभामा र केन्द्रीय स्तरका नेतालाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएर पठाउनु र उम्मेदवार स्वयं पनि यसैतर्फ आकर्षित हुनुले यो वास्तकितालाई थप पुष्टि गरेको हो। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले गण्डकी प्रदेशको नेतृत्व गर्ने उद्देश्यले प्रभावशाली नेताहरूलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ। गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि पार्टीबाट सर्वसम्मत सिफारिसमा परेका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई सोही क्षेत्रको प्रदेश (ख)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ।

वाम तथा लोकतान्त्रिक गठबन्धन गर्नेक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदबार बन्ने इच्छा राखेपछि पाण्डेलाई प्रदेशमा झारिएको हो। उनलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशमा लगिएको स्वयं प्रचण्डले नै स्वीकारेका छन्। गत साता गोरखामा आयोजित चुनावी कार्यक्रममा उनले पाण्डेलाई मुख्यमन्त्री बनाउने विषयमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी भइसकेकोसमेत बताएका थिए।

दुई दशकसम्म कांग्रेसको कास्की जिल्ला सभापति भइसकेका शुक्रराज शर्मालाई कांग्रेसले नै समानुपातिकतर्फ प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ। उनी राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन्। उनी अहिले पार्टीको गण्डकी प्रदेश सभापति हुन्। राजनीतिक हिसाबले शर्माभन्दा कनिष्ठ कास्कीका वर्तमान सभापति किशोरदत्त बराल कास्की क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्।

कांग्रेसले केन्द्रीय सदस्य ध्रुव वाग्लेलाई पनि प्रदेश सभातर्फ समानुपातिकमा खस आर्य समूहको तर्फबाट दुई नम्बरमा राखेको छ। सांसद भएको अवस्थामा उनी पनि मुख्यमन्त्रीकै दाबेदार रहेको कांग्रेसका गण्डकी प्रदेश सदस्य दीपेन्द्र शर्माले बताए।

कांग्रेस पार्टी कार्यालयका पूर्वमुख्यसचिव ऋषिकेश तिवारीलाई पर्वतबाट प्रदेश सभाको सदस्य बनाइएको छ। उनी पर्वत १ को (ख)बाट उम्मेदवार बनेका छन्। एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसले अर्जुन जोशीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ।

गठबन्धनमै आबद्ध भएको नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका पूर्वआन्तरिक मामिला तथा सञ्चारमन्त्री हरिबहादुर चुमानलाई तनहुँबाट प्रदेश सभाको उम्मेदवार बनाएको छ। उनी पनि मुख्यमन्त्रीको दाबेदार हुन्।

प्रदेशको कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापालाई कांग्रेसले कास्की क्षेत्र नं. २ (ख)बाट प्रदेश सभाको उम्मेदवार बनाएको छ। उनी पनि चुनाव जितेको अवस्थामा मुख्यमन्त्रीको दाबेदार हुन्। नेकपा (एमाले)ले पनि पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारीलाई कास्की क्षेत्र नं. १ तर्फ प्रदेश (क)बाट उम्मेदवार बनाएको छ। अधिकारी सङ्घीय सरकारमा गृह र स्वास्थ्य तथा जनसङ्ख्यमन्त्रीसमेत भइसकेका छन्। यस क्षेत्रमा उक्त पार्टीले प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा पार्टीका जिल्ला अध्यक्ष मनबहादुर गुरुङलाई बनाएको छ।

एमाले कास्की जिल्लाका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले पनि आफ्नो दलले भावी मुख्यमन्त्रीकै रूपमा अघि सारेर अधिकारीलाई प्रदेश सभाको उम्मेदवार बनाएको बताए। यसै प्रदेशमा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि प्रतिनिधि सभा छोडेर लमजुङबाट प्रदेश सभा सदस्यको उम्मेदवार हुने चाहना पार्टीमा व्यक्त गरेका थिए।

यद्यपि उनलाई पार्टीले एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङबाटै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। गुरुङ यसै प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्। एमालेले मुख्यमन्त्री बनाउने योजनाका साथ जमिन्द्रमान घलेलाई पनि लमजुङ निर्वाचन क्षेत्र नं. १ (क)बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ।

सात प्रदेशमध्ये गण्डकीलाई स्रोत र साधनले सम्पन्न र विकासका प्रशस्तै सम्भावना भएको प्रदेश मानिन्छ। यसै दृष्टिकोणले नेताहरूको ध्यान प्रदेशतर्फ गएको यस क्षेत्रका जानकारहरूको बुझाइ छ। नेपाल उद्योग वाणिज्य महासङ्घ कास्कीका महासचिव बलराम आचार्यले गण्डकी प्रदेशमा प्रमुख राजनीतिक दलहरूले मुख्यमन्त्रीलाई ध्यानमा राखेर प्रदेश सभाको सदस्य बनाएको विश्लेषण गरे।

उनले भने, “हुन त दलहरूले प्रतिनिधि सभालाई प्राथमिकतामा राखेका छन् तर हामी व्यवसायीको बुझाइमा मुख्य दलहरूले भावी मुख्यमन्त्रीको लोभमा प्रदेश सभालाई पनि उत्तिकै महत्व दिएका छन्।” प्रतिनिधि सभाले राष्ट्रिय राजनीतिसँग मात्रै सरोकार राख्ने तर प्रदेश सभाले प्रशस्त अधिकारको अभ्यास गर्न पाउने र प्रदेशको नेतृत्व गर्न पाएको अवस्थामा स्थानीय तहमा आफ्नो पकड जमाउन पाउने हुनाले यतातर्फ उम्मेदवारको आकर्षण बढेको हुन सक्ने स्थानीय व्यवसायी शिव पालिखेले बताए।

स्रोत र साधनले सम्पन्न तथा विकासको समेत प्रशस्त सम्भावना भएका कारण गण्डकी आकर्षणको केन्द्र बनेको गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. गणेशमान गुरुङले बताए। यस प्रदेशअन्तर्गत ११ जिल्ला (कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङ, म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत र नवलपरासी (पूर्व) पर्छन्।

नेपाल राष्ट्र बैङ्कले दुई वर्षअघि गरेको एक अध्ययनले यस प्रदेशमा वनजन्य कच्चा पदार्थ प्रयोग गरी प्रशोधनमा आधारित उद्योगधन्दा, ढुङ्गा, गिटी, बालुवालगायतका खनिज तथा उत्खननसम्बन्धी उद्योग स्थापनाको प्रशस्तै सम्भावना रहेको औँल्याएको थियो।

यसै प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले पनि प्रदेशभित्र विभिन्न जिल्लामा युरेनियम, टुर्मालिन, चुनढुङ्गा, फलाम, टाल्क, रातोमाटोलगायतका खनिजजन्य वस्तुको सम्भावना रहेको उल्लेख गरेको थियो। राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये यस प्रदेशमा मात्रै चारवटा आयोजना रहेका छन्। जसमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बूढीगण्डकी जलविद्युत् आयोजना, कालीगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्ग पर्छन्। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.