उमेर ढाँटेर बढुवा हुने पूर्वडिएसपीविरुद्ध मुद्दा

रिपोर्ट नेपाल | 2018 Sep 13 | 07:17 am 2102

काठमाडौं, भदौ २८: उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ वर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पूर्वडिएसपी बल्लभबहादुर सिंहविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले आफ्नो उमेर करिब २ वर्ष ढाँटेर डिएसपीमा बढुवा भएका थिए। गतवर्ष अवकाश पाएका सिंहसित प्रहरी प्रधान कार्यालयले पनि बढी तलब असुलउपर गरेको थियो। उनी ०३७ वैशाखमा १८ वर्ष पुगेका थिए। तर, आफू १६ वर्ष मात्र भएको भनी जिल्ला प्रहरी कार्यालय बझाङबाट बनाइएको नयाँ नागरिकता पेस गरी सिंहले उमेर ढाँटेको आयोगले जनाएको छ।

उमेर नढाँटेको भए उनी इन्स्पेक्टरमै अवकाश हुने थिए। डिएसपी बन्नकै लागि उमेर बढाएको उजुरी परेपछि अनुसन्धान गरी उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.