उपल्लो मुस्ताङीलाई घरदैलोमै नागरिकता सेवा

| 2023 May 16 | 07:53 am 1401

मुस्ताङ, जेठ २: उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका नागरिकलाई घरदैलोमै नागरिकता वितरण गरिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीको पहलमा उपल्लो मुस्ताङस्थित इलाका प्रशासन कार्यालयबाट विगत २ वर्षदेखि अवरुद्ध नागरिकता सेवा प्रदान गरिएको हो।

यसअघि सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बसोबास गर्ने स्थानीय नागरिकलाई लक्षित गरी इलाका प्रशासन कार्यालय स्थापना गरे पनि विगत २ वर्षदेखि इलाका प्रशासन कार्यालयमा अधिकृत तहको दरबन्दी रिक्त हुँदा नागरिकता, राहदानी र अन्य सेवा अवरुद्ध हुँदै आइरहेको थियो।

उपल्लो मुस्ताङमा २०७३ सालमा सर्वसाधारणलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो।

इलाका प्रशासन कार्यालय लोमान्थाङमा कार्यालय प्रमुखसहित ७ जना कर्मचारीको दरबन्दी छ। तर कार्यालय प्रमुखको दरबन्दी पदपूर्ति हुन नसक्दा कार्यालयका सबै सेवा अवरुद्ध रहँदै आइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताए।

इलाका प्रशासनको काम ठप्प रहँदा त्यहाँका नागरिकले नागरिकता र राहदानी बनाउन महंगो खर्च गरी जोमसोम आउनुपर्ने बाध्यता थियो। सोही समस्यालाई मध्यनजर गर्दै सहायक प्रजिअ चन्द्रकान्त बस्नेतसहितको टोली उपल्लो मुस्ताङको इलाका प्रशासनमा पुगेको हो।

टोलीले लोमान्थाङ गाउँपालिकसँगको समन्वयमा वैशाख २८ र २९ गते दुई दिनसम्म  बसेर नागरिकता सेवा प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिए।

उनका अनुसार  लोमान्थाङमा २८ जनालाई नयाँ र १४ जनालाई प्रतिलिपि नागरिकता प्रदान गरिएको हो। यसैगरी ९ वटा राहदानी समेत हस्तान्तरण गरिएको उनले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.