उपप्रधान तथा रक्षामन्त्री पोखरेलद्वारा निरीक्षण भ्रमण

रिपोर्ट नेपाल | 2019 Apr 29 | 06:57 pm 1757

काठमाडौं, वैशाख १६: उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बारा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि नेपाली सेनाले सञ्चालन गर्ने अपरेशन जनता आवास (बारा र पर्सा) जिल्लाको स्थलगत निरीक्षण गरी स्थानीय जनप्रतिनीधि र हावाहुरी पिडितसँग अन्तरक्रिया गरेका थिए ।

हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रका विभिन्न १२ ठाउँमा नेपाली सेनाले १२ वटा समूह बनाएर एकै पटक घर निर्माणको काम थालनी गरि आउँदो वर्षा अगावै सम्पन्न गर्ने बताए ।

हावाहुरी प्रभावितका लागि नेपाली सेनाले गर्न लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत कुरा तथा राजनीतिक दवावले प्रभाव नपार्ने समेत उनले बताएका थिए ।

उक्त अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार हावाहुरीबाट पिडित प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालयसमेत हुने गरी दुईकोठे घर निर्माण गरिने बताए ।

कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डे, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका रथीबृन्द, उपप्रधान तथा रक्षामन्त्रीको निजी सचिवालयका स्वकीय सचिव, स्थानीय जनप्रतिनिधि, नेपाली सेनाका अधिकृतहरु, हावाहुरी पिडित र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.