उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन, शीर्ष नेताहरुको दौडधुप

रिपोर्ट नेपाल | 2019 Nov 27 | 09:34 am 1517

काठमाडौं, मंसिर ११: आउँदो शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । आज राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु आज अन्तिम प्रचारमा जुटेको पाइएको छ ।

शनिबार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ ।

त्यस्तै धरान उपमहानगरपालिकाको मेयद पदको चुनाव पनि चासोका साथ हेरिएको छ । यी सबै स्थान कम्युनिष्टहरुले जितेको ठाउँ भएकाले सत्तापक्ष र प्रतिपक्षवीच यो उपचुनाव प्रतिष्ठाको लडाइँ बनेको छ ।

शनिबार तीन गाउँपालिका प्रमुख र एक गाउँपालिका उपप्रमुखको पनि चुनाव हुँदैछ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका र नेकपाले जितेको संखुवासभाको मकालु गाउँपालिकामा उपचुनाव हुँदैछ ।

यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि शनिबार निर्वाचन हुँदैछ । यसअघि कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि शनिबार मतदान हुँदैछ ।

चार स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये नेकपाले जोगाउनुपर्ने एउटा गाउँपालिका छ भने कांग्रेसले दुईवटा गाउँपाकिला जोगाउनुपर्ने छ । त्यस्तै राजपाले एउटा गाउँपालिकामा आफ्नो सीट जोगाउनुपर्ने चुनौती छ ।

त्यसैगरी शनिबार ४३ जना वडाध्यक्षका लागि मतदान हुनेछ । तीमध्ये २१ गायँपालिकाका वडाहरु छन् भने २२ नगरपालिकाका वडाहरु छन् ।

नेपाली कांग्रेसले धरान र कास्कीलाई विशेष जोड दिएको देखिन्छ । पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु धरान र पोखरामा केन्द्रित भएका छन् ।

त्यसैगरी नेकपाको शीर्ष नेतृत्व पनि बाग्लुङ, पोखरा, धरानलगायतका स्थानमा चुनाव प्रचारमा व्यस्त छ ।

बुधबार बिहानै नेकपा अध्यक्ष प्रचण्ड अन्तिम चुनावी सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन् । पोखराको कार्यक्रम सकेर आजै प्रचण्डले धरानको सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.