काठमाडौं, माघ २५ः दुई दिनदेखि मुलुकभरको मौसममा बदली भइरहेको छ । केही स्थानमा वर्षा र हिमपात भएको छ भने तराईका जिल्लामा शीतलहर बढेको छ । मुलुकभर मौसम बदली हुँदा जनजीवन प्रभावित भएको छ ।
पश्चिमी वायुको प्रभावले शनिबार देशका उच्च पहाडी र हिमाली भागमा हिमपातसहित वर्षा भएको हो । न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा हिमपातसहित वर्षा भइरहेको छ ।
शनिबार काठमाडौं उपत्यका आसपासका डाँडाहरू पनि हिउँले सजिएका थिए । काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरि, फूलचोकीसहित नगरकोट क्षेत्रमा शनिबार हिउँ परेको हो ।
शनिबार काठमाडौं आसपासका मकवानपुरको दामन र पालुङमा पनि व्यापक हिमपात भएको छ । यस्तै खरिबोट र नगरकोटमा पनि हिउँ परेको छ ।
लामो समयदेखि वर्षा नभएको अवस्थामा शनिबार काठमाडौंमा १ दशमलव २ मिलिमिटर वर्षा भएको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकामा मौसम बदली भएकाले जनजीवन प्रभावित बनेको छ । आइतबार पनि मौसम बदली नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबारबाट भने मौसम सफा हुने महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसमविद् कँडेलले बताइन् । शनिबार गण्डकी प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रह्यो । बाग्मती प्रदेशका केही स्थानका साथै प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भयो । यसैगरी प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ ।
प्रदेश १ को पहाडी भू–भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सामान्य रहने जनाइएको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात तथा प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । राजधानी दैनिकबाट