उपत्यकामा बढ्दो सवारी प्रदुषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको अभियान।

रिपोर्ट नेपाल | 2019 May 10 | 08:09 am 2286

काठमाडौँ , बैशाख २७ :  उपत्यकामा बढदो सवारी प्रदुषण नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरेको छ । सवारी साधनले अत्याधिक रुपमा धुवाँ फ्याक्दा सर्वसाधारण नागरिकको स्वास्थ्यमा असर गरेपछि यातायात व्यवस्था विभागको समन्वयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले अभियान अगाडि बढाएको हो ।

यातायात व्यवस्था विभागले सवारी साधनको चेकजाँच गरेपनि प्रभावकारी बन्न सकेको छैन् । छ/छ महिनामा सवारी परीक्षण गरेर हरियो स्ट्रिकर टाँस गरेपनि धुवाँ फ्याक्ने क्रम बढदै गएको छ । बढ्दो सवारी प्रदुषणलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालयका कर्मचारी सहित सडकमा नै सवारी साधनको चेकजाँच अगाडि बढाएको हो ।

यातायात कार्यालयमा चेकजाँच हुने सवारी साधन पनि सडकमा चेकजाँच गर्दा फेल भएका छन् । अभियान सुरु भएको एक महिनाको अवधिमा सडकमा चेकजाँच भएका सवारी साधन आधा भन्दा बढी फेल भएका छन् । हरियो स्ट्रिकर लिएर पनि धुवाँ फ्याक्ने सवारी साधनलाई कानुनी कारवाही समेत अगाडि बढाइएको छ । ट्राफिक प्रहरीले प्रर्याप्त मेसिन नहुँदा अपेक्षा गरेअनुसार सवारी चेकजाँच गर्न पाएको छैन् ।

यातायात व्यवस्था विभाग अन्तर्गत गरेको मेकानिकल तथा सवारी प्रदुषण नियन्त्रण शाखाले सवारी परीक्षण गर्दै आएको छ । तर प्रभावकारी बन्न सकेको छैन् । सीमित स्रोत साधनको कारण नागरिकहरुको स्वास्थ्यमाथि नै असर गर्दा पनि विभागले पर्याप्त ध्यान नदिएको गुनासो छ ।

-काठमाडौं उपत्यकामा १२ लाख सवारी साधन
-धुवाँ फ्याक्ने सवारी साधनमाथि सडकमै चेकजाँच
-आधा सवारी साधन फेल
-अभियानले निरन्तरता पाउछः महानिरीक्षक खनाल

नागरिकहरुको बढ्दो गुनासोलाई समाधान गर्न यातायात व्यवस्था विभागको समन्वयमा ट्राफिक महाशाखाले तीन महिने कार्यक्रम अगाडि बढाएको छ । सडकमा छड्के सवारी साधन चेकजाँच गर्ने काममा ट्राफिक प्रहरी खटिएका छन् ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी प्रदुषण नियन्त्रण गर्न अभियान अगाडि बढाइएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए  ।सरोकारवाला निकायसँग समन्वय गरेर सवारी प्रदुषण नियन्त्रण गर्न अभियान अगाडि बढेको छ, नियन्त्रण नहुँदासम्म निरन्तर रुपमा सञ्चालन हुन्छ ।’ मापदण्ड विपरीत सञ्चालन हुने सवारी साधनलाई काुनन अनुसार कडा कारवाही हुने महानिरीक्षक खनालले बताए ।

हाल दैनिक रुपमा विभागका कर्मचारी सहित ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनलाई सडकमा नै चेकजाँग गर्दै आएको छ । गत चैत्र २१ गतेबाट प्रदूषण कार्य योजना अन्तर्गत डिजल र पेट्रोलबाट सञ्चालित १४ सय ४७ सवारी साधनमा ७ सय ४३ सवारी साधन फेला परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले दैनिक रुपमा पचास वटा भन्दा बढी सवारी साधन चेकजाँच भइरहेको बताए । हरियो स्ट्रिकर टासेर पनि धुवाँ फ्याक्ने सवारी साधन धेरै भेटिएका छन, फेल भएका सवारी साधनलाई कडाईपूर्वक कारवाही गरिन्छ ।’ सवारी साधनको प्रदुषण जाँच गर्ने क्रममा फेल भएको खण्डमा पाँच हजारसम्म जरिवाना हुने गरेको छ ।

अभियान अन्तर्गत पहिलो चरणमा सार्वजनिक सवारी साधनलाई चेक जाँच भइरहेको र आगामी दिनमा निजी र सवारी साधनलाई पनि चेक गरिने योजना रहेको प्रवक्ता सापकोटाले जनाए ।

‘प्रदुषण मापक यन्त्रको अभाव छ, अहिले यातायात विभाग अन्तर्गत दुई वटा मात्र यन्त्र छ’,उनले भने –‘१५ वटा मेसिन आवश्यक छ, विभागमा जनशक्तिको अभाव भए ट्राफिक प्रहरीयले यो कामलाई अगाडि बढाउन सक्छ ।’ नयाँ प्रविधियुक्त मेसिनले १५ मिनेटभित्र सवारी साधनको अवस्था बारेमा रिपोर्ट दिन सक्ने बताउदै उहाँले सुविधा सम्पन्न मेसिनको खाँचो रहेको बताए ।

विभागले नै मेसिन खरिद गर्ने प्रावधान भएपछि नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पनि चेकजाँच गर्ने मेसिन खरिद गर्नुपर्ने योजना प्रहरीले अगाडि सारेको छ । ट्राफिक प्रहरीले कानुनी रुपमा अधिकार दिने हो भने प्रदुषण नियन्त्रणको काममा इमान्दरीतापूर्वक लागेर उपत्यलाई सवारी प्रदुषणमुक्त बनाउने बताएको छ । आजको नेपाल समाचारपत्रमा
प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.